चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना

नेपाली राजदूतावास बेइजिङ

चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना

  • नेपाल सरकारको कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले संक्रमणका विरुद्ध आवश्यक तयारी तथा सतर्कता अपनाउने सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । सो अनुसार विदेशमा रहनुभएका नेपालीहरुलाई अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न एवम् संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ ।
  • नेपाल सरकारले चैत्र ९ देखि चैत्र १८ (तदनुसार २२ मार्च देखि ३१ मार्च) सम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्यलाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था सहित् आवागमनको व्यवस्था मिलाइएको छ । साथै‚ १४ मार्च २०२० देखि यता नेपाल आउने विदेशी नागरिक‚ गैह्र आवासीय नेपाली एवम् नेपाली नागरिकले १४ दिनसम्म क्वारान्टाइनमा बस्नुपर्ने व्यवस्था समेत् गरिएको छ ।
  • चीनमा प्रकोप रोकथाम र नियन्त्रणका लागि विविध प्रावधानहरु अपनाइएको छ । उक्त व्यवस्था अनुसार विमानस्थलमा आगमन पश्चात् यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने एवम् यात्रुको स्वास्थ्य अवस्था एवम् निजले यात्रा शुरु गरेको मुलुक र हालसालै यात्रा गरेका ठाउँहरुको आधारमा सरकारद्वारा तोकिएका क्वारान्टाइन स्थल वा आफै क्वारान्टाइनमा बस्नुपर्ने नियम छ । बेइजिङका हकमा सरकारद्वारा तोकिएका ठाउँमा आफ्नै खर्चमा १४ दिनसम्म क्वारान्टाइनमा बस्नुपर्दछ । प्रकोपको अवस्थामा आउने फेरबदल अनुसार उक्त नियमहरु निरन्तर रुपले अद्यावधिक हुँदैगर्ने हुनाले पछिल्लो प्रावधानका बारेमा जानकारी लिएर यात्राको योजना बनाउनु उपयुक्त हुनेछ ।
  • चीनमा कोरोनाभाइरसको प्रकोपबारे राष्ट्रिय स्वास्थ्य आयोगले जारी गर्ने तथ्याङ्क र सूचनाका लागि http://en.nhc.gov.cn प्रयोग गर्न सकिन्छ । नेपालको अध्यागमन सम्बन्धी अद्यावधिक जानकारीका लागि http://www.nepalimmigration.gov.np वा हटलाइन ९७७‒१‒४११‒३०४५ मा सम्पर्क गर्न सकिनेछ । चीनमा रहनुभएका नेपाली नागरिकहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न दूतावास प्रतिबद्ध छ । थप जानकारी र मद्दतका लागि यस दूतावास एवम् ग्वाञ्जाओ‚ ल्हासा‚ हङकङ र शांघाईका नेपाली वाणिज्यदूतावासहरुद्वारा स्थापित निम्न हटलाइनमा सम्पर्क गर्न सकिनेछ ।

क.          नेपाली राजदूतावास, बेइजिङ                     द्वितीय सचिव दीपक वि.क. फोन नं. १५६५०७२००६९

ख.          नेपाली महावाणिज्यदूतावास, ग्वाञ्जाओ         वाणिज्यदूत कुञ्जन शाह, फोन नं. १३३१०८८४८८०

ग.          नेपाली महावाणिज्यदूतावास, ल्हासा             वाणिज्यदूत जिम्सन रुम्दाली राई, फोन नं. १८८८९०९७७३०

घ.          नेपाली महावाणिज्यदूतावास, हङकङ            वाणिज्यदूत किरण गुरुङ, फोन नं.  (८५३) ५६२४९०६७

ङ.          अवैतनिक नेपाली वाणिज्यदूतावास, शांघाई   जेनेट लि, फोन नं. १३८१८३६९५५९

५    कोरोनाभाइरस प्रकोप विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहनुभएका नेपालीहरुको अद्यावधिक विवरण संकलन गर्ने कार्य भइरहेकाले चीनमा रहनुभएका सम्पूर्ण नागरिकहरु ⁽हाल नेपालमा रहनुभएका समेत्⁾ लाई दूतावासको वेबसाइटमा रहेको विवरण फाराम भर्नुहुन हार्दिक अनुरोध छ । संकलित विवरणका मद्दतले दूतावासलाई चीनमा रहनुभएका नेपालीलाई कन्सुलर सेवा प्रदान गर्न सहज हुने व्यहोरा अनुरोध छ  । http://www.wjx.cn/m/60612057.aspx मा क्लिक गरेर वैयक्तिक विवरण फाराम भर्न सकिनेछ ।

बेइजिङ‚ ८ चैत्र २०७६ (२१ मार्च २०२०)

***

नेपालीका लागि सूचना