राजदूतको सन्देश

चीनमा रहनुभएका नेपाली नागरिकहरुलाई नेपाली राजदूत लीलामणि पौड्यालको सन्देश

  • नमस्कार । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको नोभेल कोरोनाभाइरसको संक्रमणले चीनमा रहेका हामी सबै नेपालीका साथै नेपालमा रहनुभएका परिवारजनलाई चिन्तित तुल्याएको छ । चिनियाँ नयाँ वर्षमा हुने ठूलो मात्राको मानव आवागमनले छिटो संक्रमण फैलिनसक्ने भएकोले चीनमा एक असाधारण परिस्थिति उत्पन्न भएको छ ।
  • चीनलाई आइपरेको अत्यन्त चुनौतीपुर्ण यस अवस्थामा चीन सरकारले रोग नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अपनाएका उपायहरुको प्रशंसा गर्दै यस संकटको घडीमा नेपालीहरुलाई पुर्याएको सहयोगको लागि चीन सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
  • यस संकटको घडीमा यहाँहरुले देखाउनुभएको अपार धैर्य र आत्मविश्वासप्रति धन्यवाद ज्ञापन गर्दछु ।  साथै, दूतावासले चालेका कदमप्रति देखाउनु भएको समर्थन र समझदारीका लागि हार्दिक आभार ब्यक्त गर्दै  एकआपसमा पूर्ण सद्भाव र आत्मीयताका साथै हरसम्भव सरसहयोग आदानप्रदान गरी उत्कृष्ट नेपाली परम्परा र संस्कारको उदाहरण पेश गर्नुभएकामा खुसी व्यक्त गर्दछु । अहिलेसम्म चीनमा रहनुभएका कोही पनि नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको सूचना प्राप्त भएको छैन । भविष्यमा पनि यस संक्रमणबाट जोगिन आवश्यक सतर्कता एवम् सावधानी अपनाउनु हुन  यहाँहरुमा हार्दिक अनुरोध गर्दछु ।
  • म यहाँहरुसँग कोरोनाभाइरसको संक्रमण पश्चात् चीनमा रहनुभएका नेपालीहरुको सुरक्षा र हितरक्षाका लागि दूतावासले गरिरहेका कामहरुबारे संक्षेपमा प्रकाश पार्न चाहन्छु ।
  • नोभेल कोरोनाभाइरस संक्रमणका कारण वुहान लगायत् तीनवटा शहरमा आवागमन बन्द गरिएपश्चात् दूतावासले तत्काल बेइजिङ सहित् चीनका पाँचवटा शहरमा विशेष हटलाइन स्थापना गरी सो को जानकारी सञ्चारमाध्यममा प्रेषित गरेको थियो ।
  • वुहान/हुबेइमा रहनुभएका नेपालीहरुको  सहयोगमा नेपालीहरु सम्मिलित विशेष विच्याट समूह निर्माण गरी अद्यावधिक विवरण संकलन गर्ने तथा नियमित रुपमा सूचना र सन्देशहरु प्रवाह गर्ने   संयन्त्र स्थापना गरिएको छ ।
  • त्यसैगरी सियान, हनान, हुनान, दालियान, शांघाइ, हेलोङचियाङ, जिलिन, युनान, नानजिङ, सिचुवान, ग्वाङ्सी, ग्वाङदोङ, थियान्जिन लगायत् प्रान्त र शहरमा रहनुभएका नेपालीहरुको  सहयोगमा तत् तत् स्थानमा रहनुभएका नेपालीहरु सम्मिलित विशेष विच्याट समूहहरु समेत् निर्माण गरी वहाँहरुसँग नियमित सम्पर्क कायम गरिएको छ ।
  • यसका लागि दूतावासभित्रै एक विशेष सेलको निर्माण गरी सो सेलले विकसित हुँदै गरेको परिस्थितिको अध्ययन गरी सो सम्बन्धमा नेपाल सरकारलाई प्रतिवेदन गर्ने, चीनका सरकारका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्ने एवम् समस्यामा परेका नेपालीहरुलाई परामर्श तथा सुझावका साथै हुबेइ प्रान्तीय सरकारसँगको समन्वयमा आपत्कालीन सहयोग प्रदान गर्दैआएको छ ।
  • हुबेइ/वुहानमा रहेका नेपालीहरुका सम्बन्धमा यो दूतावास नेपाल सरकार र चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा छ । नेपाल सरकार हुबेइ/वुहानमा रहेका नेपालीहरुको हितमा आवश्यक कदम चाल्न तयार रहेको व्यहोरा सार्वजनिक भइसकेको सन्दर्भमा  नेपाल सरकार र नेपाली दूतावास  यहाँहरुको सुरक्षा र समग्र हितका लागि हरदम प्रयत्नशील र कृयाशील रहेको कुरामा विश्वस्त रहनुहुन हार्दिक अनुरोध गर्दछु । यदि हुबेइमा रहनुनहुने कसैको भिषा अवधि सकिन लागेको छ भने चिन्ता नलिनु हुन अनुरोध गर्दै चीन सरकारसंगको समन्वयमा उक्त समस्या समाधान गरिनेछ भन्ने  कुरा  विश्वास दिलाउन चाहन्छु।
  • चीनमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको असर सम्बन्धी पछिल्लो स्थिति तथा त्यस सम्बन्धमा चीनले चालिरहेको पहलकदमी र नियन्त्रणका उपायहरुबारे जानकारी दिने उद्देश्यले चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित दूतावासहरुका लागि हिजो आयोजना गरेको एक विशेष ब्रिफिङमा म आफैँ सहभागी भएको थिएँ । सो अवसरमा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छुट्टै भेटी मैले नोभेल कोरोनाभाइरसको नियन्त्रण तथा हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षा सम्बन्धमा छलफल तथा परामर्श गरेको थिएँ। साथै, भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेका कदमप्रति नेपालको समर्थन रहेको कुरा व्यक्त गर्दै हुबेइ/वुहानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई मैले विशेष अनुरोध गरेको छु । खाद्यपदार्थ, पानी, ‍औषधि जस्ता अत्यावश्यक सामग्रीको अभाव भएमा सो को आपूर्तिका लागि सम्पर्क गर्न चीन सरकारले आपत्कालीन फोन नं उपलब्ध गराएको हुँदा आफू वा आफ्नो सम्पर्कमा रहेका कसैलाई कुनै समस्या उत्पन्न भएमा फोन नं. ०२७-८७१ २२२५६ वा ०२७–८७८ १११७३ मा तुरुन्त सम्पर्क गर्नुहोला । मद्दतका लागि दूतावासको हटलाइन नं. १५७ ५०७२ ००६९ मा पनि सम्पर्क गर्नसकिने व्यहोरा अनुरोध छ । यस अतिरिक्त, अत्यधिक तनावका कारण कसैलाई विशेष परामर्श आवश्यक परेमा सहयोगका लागि नेपाली परामर्शदाताको व्यवस्था गरिएको छ । सो सेवा आवश्यक परेमा दूतावासको टेलिफोन नं १५७ ०१२८ ५७६३ मा सम्पर्क गरी समय लिन सकिनेछ ।
  • अन्त्यमा, चिनीयाँ सरकारले कोरोना भाईरस नियन्त्रण गर्न चालेका कदमहरु र खासगरी हुबेईको स्थानीय सरकारले अपनाएका प्रयासहरुको सम्मान गरी यो अवस्थाबाट नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् चीनले चालेका नियन्त्रण र सुरक्षाका उपायहरुमा हरसम्भव सहयोग गर्न चीनमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई म विशेष आग्रह गर्दछु । साथै, यस संकटको घडीमा धैर्य तथा संयम अपनाउनुहुन, भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारले समयसमयमा दिने सुझाव पालना गर्नुहुन, भ्रमपूर्ण वा अतिशयोक्तिपूर्ण समाचार वा सूचनासँग सावधान रहनुहुन, कोरोनाभाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत् प्रवाह गर्नुहुन एवम् कुनै समस्या उत्पन्न भएमा दूतावास वा हुबेइ सरकारको हटलाइनमा सम्पर्क गर्नुहुन चीन एवम् विशेषगरी वुहानमा रहनुभएका नेपालीहरुलाई हार्दिक अपील गर्दछु ।

धन्यबाद ।

***