प्रेस विज्ञप्ति

 

 

प्रेस विज्ञप्ति

नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६७औं वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आज साँझ दूतावास परिसरमा आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत नेपालको पर्वतारोहण प्रवर्द्धन सम्बन्धी ‘Mountaineering and Trekking in Nepal’ बिषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको शुरुवात नेपाल तथा चीनको राष्ट्रिय गान बजाएर गरिएको थियो भने नेपालका लागि चीनका राजदूत महामहिम विष्णुपुकार श्रेष्ठज्यूले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो।

मन्तव्यका क्रममा महामहिम राजदूतज्यूले नेपाल र चीन बीच रही आएको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको बारेमा चर्चा गर्नुहुदैं दुई मुलुक बीचको उच्चस्तरीय भ्रमणहरु तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो। कार्यक्रमको प्रमुख उद्देश्य नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गर्ने तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रचुर सम्भाव्यताका बारेमा प्रबर्द्धन गर्नु रहेको बताउनु भयो। उहाँले पर्यटकहरुका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेको उल्लेख गर्नु हुदैँ सगरमाथा सहित ८ हजार मिटर भन्दा बढी उचाई भएका ८ वटा हिमालचुलीहरु, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदा सूचीकृत पर्यटकीय स्थलहरुको वारेमा बताउनु भयो।उहाँले सहभागीहरुलाई नेपाल भ्रमण गर्न र नेपालमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसारका लागि आह्‍वान गर्नुभयो।

कार्यक्रममा उपस्थित नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका 31 चिनियाँ नागरिकहरुलाई महामहिम राजदूतज्यूले खादा लगाई सम्मान पत्र वितरण गर्नुभएको थियो। साथै, राजदूतज्यूसँग आरोहीहरुको सामूहिक तस्वीर समेत लिइएको थियो। कार्यक्रममा आरोहीका तर्फबाट तीन जनाले आरोहणका क्रममा लिइएका तस्वीर एवम् भिडियो सहित सगरमाथा आरोहण बारे आफ्नो अनुभव समेटी प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत् बेइजिङस्थित China Adventure Association का President Mr. Han Bo र International Mountain Tourism Alliance का बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि Ms. Xu Siming ले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो। त्यसैगरी, Nepal Mountaineering Association का अध्यक्ष श्री निमा नुरु शेर्पा र Nepal Association of Tour and Travel Agents का अध्यक्ष श्री रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गर्नु भई नेपालको पर्वतारोहण तथा ट्रेकिङ्गको विशेषता एवं आकर्षणको वारेमा प्रकाश पार्नु भयो।

त्यसै गरी सगरमाथाको चार पटक आरोहण गर्नु भएका चिनियाँ नागरिक श्री सिया बोयुले सगरमाथा आरोहणको आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडियो देखाउनु हुदैँ चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न उत्साहित बनाउने मन्तव्य दिनु भयो।श्री सिया बोयु कृत्रिम खुट्टाले सगरमाथाको आरोहण गर्ने पहिलो चिनियाँ नागरिक हुन्। उहाँले सगरमाथा आरोहणको क्रममै आफ्नो खुट्टा गुमाएका थिए। सगरमाथा आरोहणलाई समेटेर क्याप्टेन माउन्ट एभरेष्ट चलचित्र निर्माण गरेका सगरमाथा आरोही श्री वाङ पिङ तथा अर्का आरोही श्री लुओ बिआओले सगरमाथा आरोहणका वारेमा आफ्ना अनुभव समेटि प्रस्तुत गर्नु भयो। कार्यक्रमका दौरान नेपालको पर्यटकीय स्थल एवम् चिनियाँ सगरमाथा आरोहीहरुको तस्वीर प्रदर्शन गरिनुको साथै नेपालको पर्यटन सम्बन्धी भिडियोहरु समेत देखाइएको थियो।

कार्यक्रममा चीनका पर्यटन मन्त्रालयका प्रतिनिधिहरु, नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरु, चीनका Travel and tour agencies, संचारकर्मीहरु, बेइजिङस्थित नेपाली नियोगमा कार्यरत् कर्मचारी, चिनियाँ व्यवसायी एवम् नागरिकहरु, नेपाली समुदायको उपस्थिती रहेको थियो। कार्यक्रमको अन्त्यमा दूतावासले रात्रीभोजनको समेत आयोजना गरेको थियो।

 

नेपाली राजदूतावास, बेइजिङ।
२०७९ साउन २२